संसद् विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा

काठमाडौं।

सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाउने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले बुधवार प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा पठाउने आदेश सुनाएको रिट निवेदक अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए।

निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन भने अदालतले अस्वीकार गरेको छ। निवेदकले संसद विघटनको निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश दिन माग गरेका थिए।

शुक्रवार बस्ने संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि छलफल हुनेछ। बुधवार वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए।

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक रहेको दावीसहित सोमवार र मंगलवार सर्वोच्चमा रिट परेको थियो।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ वैशाखमा चुनावको मिति घोषणा गरेकी थिइन्।