अदालतको विचाराधीन मुद्दामा हामी बोल्दैंनाैँ: कांग्रेस सभापति देउवा

काठमाडौं। संसद विघटनको रिट सर्वोच्चमा विचाराधीन रहेकाे भन्दै यसमा आफूहरु नबाेल्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  बताएका छन्।

आज भक्तपुरको क्षेत्र नम्बर १ मा आयोजित विरोधसभालाई सम्बोधन गर्दै देउवाले यस्तो विषयमा नबोल्ने चलन पहिलेदेखि नै रहेको बताए।  ‘अदालतको विचाराधीन केसमा हामी बोल्ने कुरा छैन। न यता न उता। अदालतमा धम्की दिने हाम्रो बानी छैन। यो पहिलेदेखिकै चलन हो,’ सभापति देउवाले भने, ‘सरकारले बदमासी गर्न सक्ला। संसदले बदमासी गर्न सक्ला। तर, न्यायालयमा हुँदैन।’

सर्वोच्चले जस्तोसुकै निर्णय गरे पनि त्यो कांग्रेसले मान्ने उनले बताए। ‘निर्णय हाम्रो पक्षमा होस् या विपक्षमा, हामीले मान्नुपर्छ। एउटाको पक्षमा निर्णय हुन्छ। अदालतको निर्णयलाई हामी मान्छौं। यो गर ऊ गर भनेर हामी प्रेसर दिँदैनौँ,’ देउवाले थपे।

अन्य सम्बन्धित समाचार:  एमाले सांसद बसेको घरमा ढुंगा प्रहार गर्ने युवक पक्राउ

संसद विघटन अलोकतान्त्रिक कदम भएको उल्लेख गर्दै यसमा भने विरोध जारी रहने उनको भनाइ थियो। यस सम्बन्धमा देउवाले भने, ‘हामीले अहिलेदेखि नै देशभरिमा ओलीको असंवैधानिक कदमको विरोधमा आन्दोलन गरिरहनेछौं। भोलिका लागि तयार रहन निर्देशन दिन्छु। फेरि आन्दोलन गर्नुपर्ने हुनसक्छ।’