ताप्लेजुङ। ताप्लेजुङको जङ्गलमा पाँच दिन अघि लागेको डढेलो फैलिँदै गएको छ। हालसम्म आगो निभाउन सकिएको छैन।
यहाँको प्रसिद्ध धार्मिक शक्ति पिठ पाथीभरा मन्दिरलाई भने हेलिकप्टरबाट पानी खन्याएर तत्कालका लागि सुरक्षित पारिएको छ।
डढेलोले मन्दिर क्षेत्र सखाप हुने खतरा बढेपछि सोमबार हेलिकप्टरबाट पानी खन्याएर आगो निभाइएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए। मन्दिर आसपासको जङ्गल क्षेत्रमा डढेलो लगातार बढ्दै गएको छ। जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाइएको हो।
हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना जोगाउन सकिएको प्रजिअ चापागाईँले बताए।
जङ्गलको ठूलो क्षेत्रमा आगलागी निभाउन कठिन भएको छ। आगो निभाउन स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको छ।
डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ। पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइन्छ। फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बु सामुदायिक बनबाट आगो फैलिएको हो।