प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा ५० हजार कार्यकर्ता उतार्ने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समुहले आज देशभर विरोध प्रदर्शन गर्ने भएको छ।

प्रचण्ड–नेपाल समूहले काठमाडौं उपत्यकामा आजको प्रदर्शनमा ५० हजारभन्दा बढी कार्यकर्ता उतार्ने भएको छ। उक्त समूहले उपत्यकामा प्रदर्शनसँगै आमसभाको आयोजना गरेको छ।

आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उक्त समूहले देशका अधिकांश ठाउँमा विरोध प्रदर्शन तथा विभिन्न आश्न्दोलन कार्यक्रम अघि सारेको छ।

काठमाडौँमा आसपासका जिल्लाबाट समेत कार्यकर्ता ल्याउने तयारी भइरहेको छ। उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस मध्यान्ह १२ बजे भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुने छ। टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै

जुलुसको नेतृत्व नेकपाका नेताहरु युवराज ज्ञवाली, वेदुराम भुसाल, अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, योगेशकुमार भट्टराई, पम्फा भुसाल र मुकुन्द न्यौपानेले गर्ने बताइएको छ।

प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेको छ।