सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार्य हुँदैन: कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सुझावको आवरणमा विदेशी हस्तक्षेप स्वीकार नहुने बताएका छन्। देशमा राजनीतिक संकट गहिंरिदै गएका बेला चिनियाँ टोलीको नेपाल भ्रमणलाई संकेत गर्दै मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले अन्तर्राष्ट्रिय भाइचाराको आवरणमा नेपालको आन्तरिक मामलामा दवाव, प्रभाव र हस्तक्षेप गरेको आरोप लगाएका हुन्।

चिनियाँ र भारतीय राजनीतिक दलहरुले नेपालको राजनीतिमा प्रभाव पार्दा जनताको निर्णायकत्वको के हाल होला भन्दै थापाले प्रश्न समेत गरेका छन्। थापाले लेखेका छन्, ‘मैले नबुझेको हो वा बढी बुझेको हो, थाहा छैन चिनियाँ कम्युनिष्ट पार्टीले झैं अन्तरराष्ट्रिय भाइचारा भन्दै भारतीय कांग्रेसले नेपाली कांग्रेस र भाजपाले राप्रपाको आन्तरिक मामिलामा सुझावको आवरणमा दवाव, प्रभाव, हस्तक्षेप दिन थाले नेपालको स्वाभिमान, सार्वभौमिकता र जनताको निर्णायकत्वको के हाल होला?’​

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको उच्चस्तरीय टोली नेकपाको शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । उसले विभाजित नेकपालाई मिलाउन प्रयास गरिरहेको बुझिएको छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह