मीठो भाषामा कुतर्क गर्न खप्पिस प्रदीप ज्ञवाली

सन्तोष लामिछाने। अलिकति बौद्धिक र क्षमता भएको ब्यक्तिले जब आफूभन्दा मूर्ख र लहडीलाई काँधमा बोकेर हिँड्छ, तब सोच्नुस् त्यो बोकेर हिड्ने व्यक्तिको भविष्य काँधमा रहेकाले गरेको मुर्खतासँगै सकिन्छ। हाे, नेकपाका प्रवक्ताले दिएकाे एक टिभी अन्तरवार्ता नियालेर हेर्दा यस्तै छनक मिल्याे।

जनतामा जाने विधि लोकतान्त्रिक हो रे, औचित्य पुष्टि जनताले गर्ने हो रे, भन्दैमा समय अगाडि नै संविधानले नै नदिएको अधिकार जबर्जस्ती लाद्न मिल्छ? त्यसो गर्न थाले भोलि ६ महिनामै कसैले चुनाव गर्ने भन्ला? के अब ६ महिनामै २० अर्ब रुपैयाँको चुनाव गर्ने बाटो खोल्ने त?

अनि यस्तो कोरोना महामारीमा जनतालाई भेन्टिलेटर छैन, आफ्नो पार्टीको भागबन्डा नमिल्दा पुरै देशको नियम कानून संविधान नै मिच्न पाइन्छ? नयाँ संविधानमा स्थायित्व आओस् भनेरै अरु सरकार बन्न सक्ने स्थिति हुँदासम्म त्यो अधिकार नदिएको होइन?

सरकारलाई काम गर्न दिइएन रे, त्यसो भए सबै नीति, कार्यक्रम पास हुने, बजेट पास हुने, अनि सरकारले यस्तो यस्तो काम गर्यो भनेर फुर्ती पनि लगाउन भ्याउने, अनि फेरी काम गर्न दिइएन रे?

बरु आफैले भनेको जस्तो सर्वसत्तावाद गरेर सम्पूर्ण कुरा नियन्त्रण गर्न पाइएन भन्नु नी, लोकतान्त्रिक पद्धतिमा चल्न बाध्य बनाइयो भन्नु, लोकतन्त्रमा त कि सबैलाई समेटेर जानु पर्छ नत्र बहुमत पार्टी भित्र होस वा बाहिर, गुमाए पछि सम्मानपूर्वक छोड्नु पर्छ।

हो ताली दुई हातले मात्र बज्छ, गल्ती दुवै तर्फबाट भएको होला। तर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको जतिसुकै भर्त्सना गरे पनि नपुग्ने निकृष्ट छ।

यो कदमले गर्दा यसको दोष ९० प्रतिशत उनैलाई जान्छ। उनको र उनको गुटको राजनीतिक भविष्यलाई यस राजनीतिक तर घोर असंवैधानिक कदमले थोरै समय मूतले न्यानो दिए पनि यो देश, संविधान, नियम, कानूनलाई घातक छ।

चुनाव घोषणा गर्ने सरकार अन्तरिम सरकार हो। चार महिनाका लागि मात्र हो भने किन मन्त्रिमण्डल विस्तार गरेको? के त्यो नैतिक रुपमा गर्न हुने कुरा हो? भर्खर मन्त्री पाउनेहरू चार महिनाको लागि मन्त्री बनेर कति देश विकास गर्लान्?

यस्तो कुरालाई प्रश्रय दिने प्रधानमन्त्री कस्तो होला? चार महिना सक्दो शुभ लाभ गर भनेको होइन र? अनी चार महिनामा चुनाव पनि नगर्ने नियत स्पष्ट हुन्न त? आफ्नो सत्ता लम्ब्याउने खेल मात्र प्रष्ट देखिन्न?

प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराईले पनि पहिलो संबिधानसभा विघटन गरेकै हुन्। यी सब नेता पनि अझै सत्ता र पद लिप्सामै छन्। कहिलेकाँही त यिनीहरूको व्यवहार देखेर दया पनि लाग्छ, सहानुभूति पनि जाग्छ। खोइ नयाँ पुस्ताको नेतृत्व तयार गरेको, हस्तान्तरण गरेको?

मान्छेको उमेर ६५ वर्ष पुगेपछि त मानवीय हिसाबले पनि सबै छोडेर शान्त जीवन बिताउनुपर्ने होइन र? यस्तो उमेरमा पनि कति लुछाचुँडीमै विताउनु? जिन्दगीको उत्तरार्धमा त अलिकति आराम गर्दा पनि हुन्थ्यो नि होइन? आँखिर मान्छेको सफलता भनेको समयमै आरामीको जीवन बिताउनु पनि होइन र?