महालक्ष्मी विकास बैंकमा घाेटाला

काठमाडौं। ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकमा २०७४ सालदेखि बैंकलाई डुबाउने खेलमा कर्मचारीहरू नै सामेल भएको तथ्य बाहिर आएको छ। बै‌ंकका कर्मचारीहरूको मिलेमतोमा कम तौल भएको सुनका गरगहनालाई बढी ताैलकाे देखाएर ७ करोड ४२ लाख ६१ हजार ७ सय ४३ रुपैयाँ बिगो गरिएको पाइएकाे छ।

अर्थात धितो राख्ने क्रममा कम तौल भएका सुनका गरगहना बढी देखाएर बैंककै कर्मचारीको संलग्नतामा बढी ऋण लिन सफल भएका छन् केही व्यक्तिहरु। घाेटालाकाे सुईकाे पाउने बितीकै बैंकलाई उच्च निगरानीमा राखेर अनुसन्धान भैरहेकाे छ।

घोटाला प्रकरणमा नयाँ नयाँ तथ्यहरू सतहमा आँउदै गएको छ। साढे १७ किलो सुन भनेर ५ किलो मात्रै सुन धितो राखेर ७ करोड ४२ लाख ६१ हजार ७ सय ४३ रुपैयाँ नतिरी बैंकलाई नोक्सानी गरिएको प्रकरणको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा बैंकका पूर्व शाखा प्रबन्धक र प्रबन्धकलाई समेत पक्राउ गरेर छानबिन भैरहेको छ। सिआइबीकाे अनुसन्धान अनुसार चरणबद्ध घाेटालामा तत्कालीन समयकी बै‌ंक प्रबन्धक समेत रहेकी पिंकु पालिखेको हस्ताक्षरबाटै कर्जा जारी भएको पाइएकाे छ।

सीआईबीकाे अनुसन्धानमा पालिखे लगतै प्रबन्धक बनेका मनोजसिंह सिजापतिकै हस्ताक्षरमा पनि यसअघिकै जस्तो गरेर उनकै हस्ताक्षरबाट कर्जा प्रवाह भएको पाइएको सीआईबी प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए। उनले कर्जा प्रवाहमा सिजापतिकै हस्ताक्षर भएका कारण अनुसन्धानको दायरामा तानिएका एसपी पाण्डेले बताएका छन्।

बैंक प्रबन्धककाे निर्देशन र अनुमतिबेगर बैंकले ऋण प्रवाह गर्न नसक्ने भन्दै सीआइबीले अनुसन्धानको दायरामा तानिएको बताएको छ। तर प्रहरीसँगको बयानमा पक्राउ परेका प्रबन्धकदय पालिखे र सिजापति दुवैले यस कार्यमा दोषजति सुन जाँचकी गर्ने कर्मचारीमाथि लगाएका छन्।

उता सीआईबीकाे अनुसन्धानलाई प्रभाव पार्ने गरी अनुसन्धानकै क्रममा रहेका प्रबन्धकहरु भने निर्दोष रहेको भन्दै महालक्ष्मी विकास बैंकले विज्ञप्ति नै जारी गरेको छ। बैंकले विज्ञप्तिमार्फत भनेको छ, ‘बैंकले आन्तरिक छानबिन गरेपछि सुन जाँचकी र ऋणीको मिलेमतोमा घोटाला भएको पाइएको छ। यसमा बैंकका कर्मचारी र पूर्वकर्मचारीको संलग्नता छैन।’

बैंकको उक्त विज्ञप्ति भने प्रहरीको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने किसिमको र अनुसन्धानलाई प्रभाव पार्ने नियतले जारी भएको सीआइबीकाे ठहर छ।

‘बैंकले प्रबन्धक दोषी नरहेको भन्दै विज्ञप्ति जारी गर्ने काम स्वाभाविक नरहेको सीआईबी बताउँछ। बैंक घोटालामा काे काे मुछिएका छन् त्याे आफूहरुकाे अनुसन्धानपछि मात्र बाहिर आउने सीआईबीले जनाएकाे छ।

महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता: सीआइबीले थाल्याे अनुसन्धान

अनुसन्धानकाे क्रममा सिआईबीले बैंक घाेटालामा पूर्वप्रबन्धकसहित ६ जनालाई पक्राउ गरेको छ। खोटाङको साकेला गाउँपालिका-२ घर भई ललितपुर लगनखेल बस्ने ३२ वर्षीय पूर्ण राई, सोही ठाउँका ४० वर्षीय देवानन्द राई,  धनकुटाको साँगुरीगढी–४  घर भई ललितपुर बस्ने २५ वर्षीय सन्दिप लिम्बूलाई सीआइबीले मंसिर २६ गते पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जना ऋणी हुन्। उनीहरुले सुन धितो राखेर ऋण लिएका थिए।

त्यसैगरी सीआइबीले दोस्रो चरणमा बैंकका तीन जना पूर्वप्रबन्धकलाई पक्राउ गरेको थियो। गौशाला बस्ने ४२ वर्षीय स्मृति राना, पोखराका ३९ वर्षीय पिंकु पालिखे र मोरङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय अनिस सिंह सिजापतिलाई पुस ५ गते सीआइबीले पक्राउ गरेको हो।

उनीहरुविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको छ। कम र कमसल सुन धितो राखेर ऋण प्रवाह भएको समयमा उनीहरु बैंकको शाखा प्रबन्धक थिए। 

 

अन्य सम्बन्धित समाचार:  भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछी...