मध्यावधि निर्वाचन असम्भवः बालकृष्ण खाण

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आगामी वैशाखमा गर्ने भनिएको मध्यावधि निर्वाचन असम्भव भएको बताएका छन्। मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले सरकार आफैं निर्वाचन गराउने पक्षमा नरहेको भन्दै मध्यावधि निर्वाचन असम्भव भएको उल्लेख गरेका हुन्।

संसद्मा भ्रष्टाचारका मुद्दामा प्रश्न उठ्ने र जवाफ दिन सक्ने अवस्था नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको उनको भनाइ छ। नेता खाणले एकदलीय सर्वसत्तावाद ल्याउने र सरकारले गरेका ठूला भ्रष्टाचार लुकाउन संसद् विघटन गरिएको आरोप लगाए।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा गइसकेकाले कांग्रेस फैसलाको पर्खाइमा रहेको भन्दै उनले सरकार असंवैधानिक, अधिनायकवादी र अलोकतान्त्रिक भएको बताए। प्रधानमन्त्री आफैं संविधान तोडमोडमा लाग्नु दुर्भाग्यपूर्ण रहेको भन्दै खाणले कांग्रेसले संविधानको पक्षमा कदम चाल्ने बताए।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा १२८१ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु