सरकारविरुद्ध विप्लवसहित चार पार्टीले संयुक्त मोर्चा निर्माण गर्ने

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले सरकार विरुद्ध संयुक्त मोर्चा निर्माण गर्ने भएको छ। मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी, कम्युनिस्ट पार्टी नेपालले मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको जानकारी दिएको हो।

‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ। यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

वैदेशिक शक्तिको आड, भरोसा र इसारामा ओली सरकारले संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ। संसद विघटन गर्ने कदम पार्टीको आन्तरिक मामिला नभएको भन्दै उनीहरुले यसलाई संसदीय व्यवस्थाको असफलताको द्योतक भएको बताएका छन्। देश र जनताको समस्या संसद् पुनस्र्थापना या मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संयुक्त मोर्चाले छिट्टै आफ्ना कार्यक्रम घोषणा गर्ने जनाएको छ।