उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बुधबार हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् शान्ति कँडेलका अनुसार सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। यस्तै कर्णाली र गण्डकी प्रदेशको आकाशमा बादल लाग्ने सम्भावना छ।

दिनभर बादल नलागे पनि पारिलो घाम पनि नलाग्ने उनले बताइन्। तराईमा बिहानतिर एकछिन कुहिरो लाग्नेछ। दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसविद् कँडेलले जानकारी दिइन्।

राति पनि कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँको आकाशमा बादल लाग्नेछ। यसैबीच बिहान ६ बजे काठमाण्डौ उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  २३ किलो गाँजासहित तीनजना पक्राउ