संसद् विघटनप्रति उपराष्ट्रपति पुनको असन्तुष्टि

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले संसद् विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ’ उपराष्ट्रपति पुनले भने, ‘जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो ।’

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेको उनको भनाइ छ।

‘संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ ।’ शुभकामना सन्देशमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली