बलिउडले २०२० मा गुमायो जगदीपदेखि सुशान्त सिंह राजपूतसम्म

काठमाडौं। बलिउड उधोगले २०२० मा चर्चित १० हस्तीलाई गुमाएको छ। केहीले आत्महत्या गरे भने, केही अन्य कारणले यो दुनियाँ छोडे। बलिउडले यसवर्ष प्रतिभाशाली कलाकारहरु सुशान्त सिंह राजपूत, इरफान खानदेखि ऋषि कपुर र सरोज खानसम्मलाई गुमाएको छ। यी कलाकारहरुको मृत्युले बलिउडमा निकै ठूलो धक्का लागेको छ।

यो वर्ष बलिउडले गुमाएका व्यक्तिहरु–

१. सुशान्तसिंह राजपूत


बलिउडमा आफ्नो छाप बलियो बनाउँदै गएका युवा अभिनेता सुशान्त सिंह राजपूत १४ जुनमा आफ्नै घरमा मृत भेटिए। जम्मा ३४ वर्षको उमेरमा नै उनले यो दुनियाँ छाडेका थिए। उनको निधनले बलिउडमा पूरै शोकमा डुबेको थियो।

२. इरफान खान


इरफान खानको पनि यसै वर्षको २९ अप्रिलमा निधन भएको थियो। क्यान्सरसँग निरन्तर एक वर्षदेखि लड्दै आएका इरफानको उपचारकै क्रममा अस्पतालमा मृत्यु भयो। इरफान आफ्नो अन्तिम फिल्म ‘अंग्रेजी मिडयम’ मा देखिएका छन्। जसमा करीना कपुरको पनि मुख्य भूमिका छ।

३. ऋषि कपुर


‘मेरा नाम जोकर’ बाट बलिउडमा डेब्यू गरेका ऋषि कपुरको गत अप्रिल ३० मा निधन भएको थियो। छातीमा संक्रमण भएपछि श्वास लिन समस्या भयो। त्यसपछि अस्पताल भर्ना गरिएका कपुर घर फर्किएनन्। २०१९ मा उनी क्यान्सरको उपचार गरेर अमेरिकाबाट भारत फर्किएका थिए।

४. सरोज खान


बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको कार्डियाक अरेस्टका कारण ३ जुलाईमा निधन भएको थियो। उनको ७१ वर्षको उमेरमा मृत्यु भएको हो। सरोज खानलाई श्वास लिन समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। त्यहीँ उनको मृत्यु भएकोे हो।

५. वाजिद खान


बलिउडका चर्चित म्यूजिक कम्पोजर वाजिद खानले पनि २०२० मा ४३ वर्षको उमेरमा दुनियाँबाट बिदा भए। वाजिदलाई मिर्गौला सम्बन्धी समस्या थियो। लामो समयदेखि उपचार गराइरहेका वाजिदको अस्पतालमै मृत्यु भएको हो।

६. जगदीप


बलिउड फिल्म उद्योगमा स्थापित चर्चित कमेडियन सैयद इस्तियाक जाफरी अर्थात जगदीपको ८ जुलाईमा मुम्बईमा निधन भएको हो। बाल कलाकारबाट आफ्नो करिअर शुरु गरेका जगदीपको ८१ वर्षको उमेरमा निधन भएको हो।

७. एसपी बालासुब्रमण्यम

एसपी बालासुब्रमण्यमको निधन गत सेप्टेम्बर २५ मा कोरोना संक्रमणका कारण भएको हो। कोरोना संक्रमित भएपछि उनी चेन्नइस्थित के एमजीएम अस्पतालमा भर्ना गरिएको थियो। उनले आफ्नो करिअरमा सलमान खानका कैयौं फिल्ममा गीत गाएका छन्।

८. निम्मी


वास्तविक नाम नवाब बानो भएर बलिउडमा निम्मीको नामले चिनिने कलाकारकाे पनि यसैवर्ष ८८ वर्षको उमेरमा मृत्यु भएको छ। उनले १९५० देखि १९६० सम्म कैयौं हिट फिल्ममा काम गरेकी थिइन्।

९. आसिफ बसरा


आसिफ बसरा गत नोभेम्बर १२ मा धर्मशालाको एक निजी कम्प्लेक्समा मृत भेटिएका थिए। उनको निधनको कारण अहिलेसम्म खुल्न सकेको छैन।

१०. निशिकान्त कामत


‘मुम्बई मेरी ज्यान’ फिल्मका निर्देशक निशिकान्त कामतको १७ अगस्तमा मृत्यु भएको हो। ५० वर्षीया निर्देशक तथा अभिनेता कामतलाई कलेजोसम्बन्धी समस्या थियो।