कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि भेटियो

अमेरिका कोरोना

काठमाडाैं। कोरोना भाइरसको नयाँ प्रकार अमेरिकामा पनि पुष्टि भएको छ।

बेलायतमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलोराडो राज्यमा फेला परेको पुष्टि भएको हो। बिरामी परेका २० वर्षका एक युवा अहिले आइसोलेसनमा रहेका छन्।

गएको हप्ता मात्रै अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरसको नयाँ ‘भेरियन्ट’ अमेरिकामा आइसकेको हुनसक्ने शंका गरेका थियो। नयाँ प्रकारको कोरोना भाइरस भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन, फ्रान्स, बेलायतलगायत धेरै देशहरुमा पुष्टि भइसकेको छ।

यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्। यसैबीच, नयाँ किसिमको भाइरसबाट हुने समस्या पुरानोको तुलनामा गम्भीर नरहेको बेलायतका वैज्ञानिकहरुले दावी गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कक्षा १० को परीक्षा रद्द, १२ को परीक्षा स्थगित

नयाँ किसिमको भाइरस एकदमै छिटो फैलिने भए पनि त्यसमा पुरानो भाइरसमा भएजस्तै गुणहरू भएको पब्लिक हेल्थ इङ्ल्याण्डले गरेको अनुसन्धानले देखाएको छ। नयाँ प्रकारको कोरोना संक्रमण भएका १ हजार ७ सय मानिसमा अध्ययन गर्दा नयाँ प्रकारको कोरोना भाइरसले पुरानोको जत्तिनै असर गर्ने देखिएको नयाँ प्रकारका भाइरसको अनुसन्धानमा खटिएका वैज्ञानिकहरूले बताएका छन्।

अहिले, विकसित गरिएका खोपहरु नयाँ प्रकारको भाइरस विरुद्ध पनि प्रभावकारी हुने अनुसन्धानकर्ताहरुले जनाएका छन्। बेलायतमा पहिलाे पटक देखिएकाे नयाँ भाइरस अन्य देशमा पनि देखिन थालेपछि विभिन्न देशले उच्च सतर्कता र लकडाउनसमेत गरेका छन्।