चिनियाँ कम्पनी सिनोफार्मकाे खाेप झन्डै ८० प्रतिशत प्रभावकारी

एजेन्सी। चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म)ले कोरोना भाइरसविरूद्ध बनाएको खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ। बुधबार उक्त कम्पनीले तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा आफूले बनाएको खोप ७९.३४ प्रतिशत प्रभावकारी भएको उल्लेख गरेकाे छ।

दुई डोज लगाउनु पर्ने सिनोफार्मकाे खोपको तेस्रो चरणको परीक्षण यूएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो।

डिसेम्बर ९ मा यूएईका स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए। यूएई र बहराइनले चिनियाँ खोपलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन्। चीनले पनि केही महिनादेखि नै यो खोपको आपतकालीन प्रयोग गरिरहेको छ।

अहिले यसको आम प्रयोगका लागि अनुमति मागिएको कम्पनीले जनाएको छ। यसअघि रूस, बेलायत र अमेरिकाका कम्पनीले बनाएका कोरोनाविरूद्धका खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको थियो। अमेरिका र बेलायतले आमनागरिकलाई कोरोनाविरुद्धको खोप दिन सुरू गरिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  तालिबानको आक्रमणमा चार सुरक्षा अधिकारीको मृत्यु