काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको अधिवेशनमा उपस्थित हुने सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल समेत गरेका छन्। पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने भन्दै तिमिल्सिनाले बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पूरा गरी आवश्यक तयारी गरेको जानकारी दिए।
संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानी अपनाउन आग्रह गरे।
साथै राष्ट्रिय सभा सदस्यहरुको निशुलक कोरोना परिक्षण हुने भएको छ। त्यसको निम्ति बिहीवार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको उनले जानकारी दिए। उनका अनुसार परिक्षण पश्चात रिपोर्ट नेगेटिभ भएका सांसदहरुलाई मात्र अधिवेशनमा प्रवेश दिइनेछ।
राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आव्हान भएको छ। प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ।