काठमाडाैं। नेपाल टेलिकमले शुक्रबारदेखि आईपी टीभी सञ्चालनमा ल्याउने भएको छ। दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टिभी ब्रान्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउन लागेको हो। हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आईपी टीभी सेवा थप गर्न लागेको हो।
कम्पनीको एनटी टीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ। तत्कालका लागि उक्त सेवा काठमाडौँ उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोङ्गबुमा उपलब्ध हुनेछ।
यसैगरी पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ।
हाल एफटीटीएच सेवामार्फत भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गरेर एनटी टीभी सेवा प्राप्त गर्न सक्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन्। उनका अनुसार उक्त टीभी सेवा ग्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरीद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टिभी सेटमा एनटी टिभी हेर्न सकिनेछ।
विभिन्न राष्ट्रिय तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टिभी सेवा विभिन्न प्याकेजमा वितरण हुने र आवश्यकता अनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ।