निर्मला पन्त हत्या घट्नामा बर्खास्त एसपी विष्टलाई मन्त्रिपरिषदद्वारा पुनर्बहाली

काठमाडौं। निर्मला पन्त हत्या घट्नामा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई मन्त्रिपरिषद बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो। अढाइ वर्ष अघि कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो। एसपी विष्ट त्यो बेला कञ्चनपुरका प्रहरी प्रमुख थिए।

उक्त घट्नालाई गम्भिरतापूवर्क नलिएको तथा सबै प्रमाणहरु नष्ट गर्न एसपी विष्टले भूमिका खेलेको भन्दै उनको चर्को विरोध भएको थियो। जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो।

अदालतले सफाइ दिएपछि गृह मन्त्रालयले विष्टको पुनर्बहालीका लागि मन्त्रिपरिषद्लाई आदेश दिएको थियो। फैसलासँगै विष्टले पुनर्बहालीका लागि प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका थिए।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री

प्रधान कार्यालयले उनको निवेदन गृह मन्त्रालयमा पठाएको थियो। फौजदारी न्याय प्रणालीमा सफाइ पाउन कसुर स्थापित नभएको ठानिने हुनाले स्वतः न्यायका लागि अपिल गर्न सकिन्छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्रबहादुर खड्का र जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए।

एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बर्खास्त गरेको थियो।

भट्टलाई पनि पुनर्बहाली गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको छ। दुवै जना २०७५ भदौ ३१ गते निलम्बनमा परेका थिए। उनीहरुलाई २०७५ कात्तिक ८ गते बर्खास्त गरिएको थियो।

२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो।