राष्ट्रिय मेलमिलाप दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं। आज (बिहीबार) ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस। विविध कार्यक्रम गरी मनाउँदैछ। २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइँने गरिएको छ।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई बर्खास्त गरेका थिए। कोइराला सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइरालासहितका नेता जेल परेका थिए ।

जेलमुक्त भएपछि २०२५ सालमा बीपीसहितका कांग्रेस नेता भारत निर्वासित भएका थिए। आठ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरू बीपी, गणेशमान सिंहलगायतका नेताहरू राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो

राष्ट्रियता, प्रजातन्त्र स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका बीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको राजनैतिक विचार अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तथा आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्ष अघि अवलम्बन गरेको नीति अहिले पनि अति सान्दर्भिक रहेको कांग्रेस नेताहरुको भनाइ छ।

यस वर्षको दिवसमा कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरूद्धको कदमबारे जनतालाई सुसुचित गराउँदै मनाउँने जनाएको छ।