मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं। मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि आज बिहीबार सुनुवाइ हुँदैछ। बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बिहीबारका लागि तोकिएको छ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ।

प्रतिनिधिसभा विघटनपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, चार मन्त्री थपिदैँ