पुष्पलाल ब्याडमिन्टन लहानमा

काठमाडौं। दसौं संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता पुस २९ देखि माघ ३ सम्म लहानको गोलबजारमा हुने भएको छ।

राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल र ४५ वर्षमाथिको भेट्रान्स युगल गरी १० विधामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध ४७ जिल्ला, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबका गरी दुई सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।

र्‍यांकिङ प्रतिस्पर्धामा सहभागी खेलाडीले १५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। लिग चरणका विजेताले प्रत्येक खेलबापत थप १५ सय, क्वार्टरफाइनलमा विजयी हुनेले आठ हजार, सेमिफाइनलमा विजयी हुनेले १६ हजार र प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिज: नेपाल नेदरल्याण्ड्ससँग भिड्दै

र्‍यांकिङबाहेक प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, ४५ वर्षमाथिको भेट्रान्स युगलका विजेताले २० हजार, उपविजेताले १० हजार र शीर्ष चारमा पुग्नेले जनही पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी छात्र छात्रा यू–१७ का विजेताले १५ हजार, उपविजेताले आठ हजार र शीर्ष चारमा पुग्नेले जनही चाररचार हजार रुपैयाँ हात पार्नेछन्। कुल १९ लाख ८४ हजार रुपैयाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा पुरस्कारतर्फ पाँच लाख ५८ हजार रुपैयाँ रहेको छ।