चल्न थाले ९ महिनादेखि बन्द रहेका मुस्ताङका होटल

काठमाडौं। मुस्ताङका होटल खुलेका छन्। मुस्ताङ होटल व्यवसायी संघको विशेष पहलमा कोरोना भाइरसका कारण ९ महिनादेखि बन्द रहेका होटल खोल्ने निर्णय भएको हो।

योसँगै अब मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ। यसअघि मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने बताएका थिए।

एकसाता अघि म्याग्दीका होटल व्यवसायी संघ र अन्य पर्यटनसँग आवद्ध संघसंस्थाले दबाब सिर्जना गरेपछि मुस्ताङका होटल व्यवसायी होटल खोल्न तयार भएका हुन्।

गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल सञ्चालनमा आए पनि हिमाली जिल्ला मुस्ताङमा कोरोना त्रासका कारण होटल खोल्न सकेको थिएन।