नयाँ वर्षकाे थालनीसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा वृद्धि

दक्षिण काेरिया। नयाँ वर्षकाे थालनीसँगै दक्षिण कोरियामा कामदारको न्यूनतम तलबमा वृद्धि भएकाे छ। गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढेर अब कामदारकाे तलब (प्रतिघन्टा ८ हजार ७ सय २० वन) पुगेकाे बताईएकाे छ।  याेसँगै अब ईपिएस काेटामा काेरिया छिरेका नेपाली लगायत अन्य देशका कामदारहरु समेत लाभान्वित हुने भएका छन्।

कोरोना महामारीका कारण आर्थिक मन्दीले सन् १९८८ देखि कै कम तलब वृद्धि 

कोरोना महामारीका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो। दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ। साथै ८ घन्टा भन्दा बढि काम गरे बापत ‘ओभरटाइम’ र सार्वजानिक बिदाहरुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन्। त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता हुनेछ।

तलब निर्धारण समितिकाे नवौं बैठककाे बहुमतले नयाँ तलब निर्धारण 

गत जुलाईमा तलब निर्धारण समितिले आठौं पटक छलफल गर्दा पनि तलब कति बढाउने भन्ने सहमति नभएपछि नवौं बैठकले बहुमतका आधारमा यो तलब निर्धारण गरेको हो । सो बैठक कामदार पक्षले बहिस्कार गरेको थियो। समितिमा कामदार, व्यवसायी र सरकारी पक्षको ९/९ जना सदस्य रहने व्यवस्था छ।

व्यवसायी र कामदारबीचका आ-आफ्ना अडान

व्यवसायीहरुले गत वर्षको तलबमा २.१ प्रतिशत कटौती गरेर ८ हजार ४ सय १० वन बनाउने माग राखेको थिए भने कामदार पक्षले १६.४ प्रतिशत वृद्धि गरेर १० हजार वन बनाउन माग राखेका थिए ।

३५ हजार भन्दा बढी नेपाली कामदार प्रत्यक्ष लाभान्वित हुने

दक्षिण कोरियामा रहेका तलबका कारण ४० लाख कामदारसँगै ३५ हजार भन्दा बढी नेपाली कामदार प्रत्यक्ष लाभान्वित हुने भएका छन्। दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले निर्वाचनका ताका सन् २०२०/२१ सम्म कामदारको तलब प्रतिघन्टा १० हजार कोरियन वन बनाउने जनाएका थिए। तर कोरोना भाइरसको महामारीका कारण यस पटक उल्लेखनीय रुपमा तलब वृद्धि नभएको बताइन्छ।

सन् २०१८ मा १६.४ र सन् २०१९ मा ११ प्रतिशत तलब बढाएको थियो। साना तथा मझौला व्यवसायीले व्यापक विरोध गरेपछि गत वर्ष २.९ प्रतिशत तलब बढेको थियो।