काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद निरु पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता खारेज गर्न सुझाव दिएकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले संघीयता खारेज गरेर निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न भनेकी हुन्।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री कायम गरेर केन्द्रीय संसदको सिट संख्या १०५ र मन्त्रिमण्डल पनि बढीमा १५ कायम गर्न आग्रह गरेकी छन्। उनले भ्रष्टाचारीलाई जेल हाल्ने गरी आँट गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेकी छन्। उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यु आट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ केन्द्र को मन्त्रिमण्डल बढीमा १५ सदस्यीय र भ्रष्ट्राचारीलाई जेलको कालकोठरीमा सडाउने आट गर्नुस् नेपाली जनताको मनमस्तिस्कमा सधै बस्नुहुनेछ। मेरो ब्यक्तिगत बिचार।’
https://www.facebook.com/niru.pal.58/posts/3639867122756169
गत पुस पाँच गते प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ। प्रतिपक्ष कांग्रेस जनता समाजवादी पार्टी पनि सडकमै छ।
नेकपामा विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसद विघटन गरेर बैशाख १७ र २७ गते चुनावको घोषणा गरेका छन्।