नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं। अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन शुक्रबार ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै छ। नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि स्वतःस्फूर्तरुपमा नेपाली युवाहरुले विगत सात वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको दिन राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएका छन्।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ। नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्। यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

अन्य सम्बन्धित समाचार:  सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी