सन्दीप लामिछानेले बिग बासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौँ। नेपाली लेग स्पीनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन्।

चौध दिनको अनिवार्य क्वारेन्टाइनबाट मुक्त भएपछि लामिछानेले शनिबार पहिलो खेल उनको पूरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्।

लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आवद्ध लामिछानेले कोरोना संक्रमणका कारण यस सिजनमा सुरुआतका ६ खेल गुमाएका थिए।

नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका लामिछानेले अष्ट्रेलिया जान ढिला गरेका थिए। अस्ट्रेलिया गइसकेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी ति खेलहरु खेल्नबाट वञ्चित भएको शिवाकोटीले बताए।

लामिछाने बुधबार क्वारेन्टाइन मुक्त भएका थिए। उनको टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ। हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिग बास लिगको तेस्रो स्थानमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा १२८१ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

बिग बास लिग खेल्न लामिछाने गत मङ्सिर ३० गते अस्ट्रेलिया उडेका थिए। क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए।

लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरू हुने बताइएको छ । लामिछानेले तेस्रो पटक बिग बास खेल्न लागेका हुन्।

लामिछानेले यसअघि दुई सिजनको बिग बास मेलवर्न स्टार्सबाट खेलेका थिए। ति दुई सिजनमा उनले कुल २० खेल खेल्दै २६ विकेट लिएका थिए।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछानेले कोरोनाबाट संक्रमित भएपछि केही समय आराम गरेका थिए। कोरोनाबाट मुक्त भएपछि उनी अस्ट्रेलिया उडेका थिए।