राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

अध्यादेश

काठमाडाैं। राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

आजदेखि हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनका लागि हिजो ४१ सांसदसहित ९७ जनाको स्वाब सङ्कलन गरिएकोमा एक  सांसदसहित ६ जनामा कोरोना पुष्टि भएको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनीहरूमा कोरोना पुष्टि भए पनि राष्ट्रिय सभाको बैठकमा कुनै असर नगर्ने र बैठकको सबै तयारी पूरा भएको बताइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आज दिउँसो ४ बजेका लागि आह्वान गरेकी छिन्। प्रतिनिधि सभा भने पुस ५ गते नै विघटन भइसकेको छ।

राष्ट्रिय सभामा विभिन्न १६ वटा विधेयक विचाराधीन रहेकाे संसद् सचिवालयले जनाएको छ। ६ वटा दर्ता भएर मात्रै रहेका छन् भने बाँकी १० वटा विधेयक सभा र समितिमा छन्। कुनै पनि कानुन बन्न दुवै सदनबाट विधेयक पास भएर राष्ट्रपतिकहाँ पुग्नुपर्ने हुन्छ। अहिले प्रतिनिधि सभा नभएका कारण राष्ट्रिय सभाले आफ्नो कामका रूपमा विधेयकमाथि छलफल गरेर पास गरे पनि कानुन बन्न प्रतिनिधि सभा नै कुर्नुपर्ने हुन्छ।

अन्य सम्बन्धित समाचार:  सभामुख सापकोटासँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य

प्रतिनिधि सभा विघटनको अवस्थामा भए पनि संवैधानिक सङ्कट टार्न राष्ट्रिय सभाको बैठक बस्न लागेको हो। प्रतिनिधि सभा नभएकाले काम नभएमा राष्ट्रिय सभाको अधिवेशन लामो समय चल्न नसक्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।