काठमाडाैं। नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टीभी’ सेवा शुरु गरेको छ। एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो। एनटी टीभी सेवाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुरुआत गरे।
टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टीभी सञ्चालनमा ल्याएको हो। टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटीटीएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो। टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ।
आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टीभी सेवा सञ्चालनमा आएको छ। काठमाडौँ उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपुर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैंबु, ग्वार्कोलगायत स्थानमा फाइबर सेवा पुगिसकेको छ। अब छिट्टै उपत्यका बाहिर पनि एनटी टिभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ।
कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो। टेलिकमले पाँच वर्षदेखि एनटी फाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ। टेलिकमले गत डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ।
“फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ”, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, “टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ।” हालसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टिभी सेवा मात्र दिँदै आएका छन्।
प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताउँछन्। टेलिकमले सञ्चालनमा ल्याएको उक्त सेवाले शहरी सौन्दर्यलाई पनि सघाउ पुर्याउनेछ। टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उनले बताए।
‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्न पनि यसले सघाउ पुर्याउने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ।