धनुषामा फुपूद्वारा पाँच वर्षीय बालकको हत्या

धनुषा। धनुषामा एक महिलाले पाँच वर्षीय बालकको हत्या गरेकी छिन्।

विदेह नगरपालिका–२ दुहबीकी २६ वर्षीया प्रमिलादेवी अमातले सोही ठाउँका पाँच वर्षीय अभिनन्दनराय अमातको हत्या गरेकी हुन्। उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकी महिला हत्या गरिएका बालककी फुपू हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए। खोजी गर्ने क्रममा उनको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडेको अवस्थामा फेला परेको हो।

प्रहरीले खोजतलास गर्ने क्रममा बालकको शव ब्रम्हदेवराय अमातको भैँसी बाँध्ने गोठमा गाडेको अवस्थामा फेला पारेको हो। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। रकम लेनदेनको विषयमा विवाद हुँदा बालकको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अन्य सम्बन्धित समाचार:  उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

बालकलाई प्रमिलादेवीले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाइसकेपछि उनलाई सुत्न लगाएर घाँटी थिची हत्या गरेको पाइएको छ। हत्यापछि शव सलले बाँधेर गोठमा गाडेको पाइएको छ।