अमेरिकामा ट्रम्पले रक्षा विधेयक रोक्न प्रयोग गरेको भिटो खारेज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा विधेयकमा प्रयोग गरेको भिटो सदनले खारेज गरिदिएको छ।

सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेका थिए। तर सदनले भिटो रद्द गरिदिएको बीबीसीले जनाएको छ।

ट्रम्पको चार वर्षे कार्यकालमा उनको भिटो संसदले पहिलो पटक रद्द गरेको हो। सदनले ट्रम्पको भिटो अवहेलना गर्नेसम्बन्धी पक्षमा मत दिएको छ।

डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो। रिपब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटले पनि भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो।

सात सय ४० बिलियन डलर बराबरको सुरक्षा खर्चसम्बन्धी विधेयक सदनबाट डिसेम्बरमा पारित भएको थियो। तर ट्रम्पले भिटो शक्ति प्रयोग गरेर त्यस विधेयकलाई कानुन बन्नबाट रोकेका थिए।

अन्य सम्बन्धित समाचार:  अफगानिस्तानको बाघलान भिडन्तमा आठको मृत्यु

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो। दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले अस्वीकार गरेको हो।

राष्ट्रपतिले प्रयोग गरेको भिटो खारेज गर्नका लागि संसदका दुवै सदनबाट दुई तिहाई बहुमत चाहिन्छ। सदनले राष्ट्रपति ट्रम्पको भिटो खारेज नगरेको भए पछिल्लो ६० वर्षमा पहिलो पटक नेशनल डिफेन्स अथोराइजेशन एक्ट कानुन बन्नबाट रोकिने थियो।