इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग युनाइटेडको अंक बराबरी

एजेन्सी। म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा जित निकाल्दै शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ।

युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा शुक्रबार राति एस्टोन भिल्लाविरुद्ध २–१ गोलको जित निकाल्दै शीर्षस्थानमा अंक बराबरी गरेको हो।

युनाइटेडको जितका लागि एन्थोनी मार्सियल र ब्रुनो फर्नान्डेले समान १–१ गोल गरे। खेलको ४० औं मिनेटमा मार्सियलले वान विसाखाको पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

यससँगै पहिलो हाफमा युनाइटेड एक गोलले अघि रहे पनि दोस्रो हाफको ५८ औं मिनेटमा भिल्लाका बेट्रान्ड ट्राओरेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
बराबरी लगत्तै घरेलु टिमले पेनाल्टीको अवसर पाएपछि युनाइटेडले पुनः अग्रता बनायो। पेनाल्टीर्फत् गोल गर्दै फर्नान्डेलसले युनाइटेडलाई २–१ गोलको जित दिलाए।

जितसँगै युनाईटेडले १६ खेलबाट ३३ अंक बनाएको छ। समान १६ खेलका साथ शीर्षस्थानमा रहेको लिभरपुलको पनि ३३ अंक नै छ। भिल्ला २६ अंकका साथ छैटौं स्थानमा छ।

ईपीएलमा शुक्रबार राति नै सम्पन्न अर्को खेलमा वेस्ट हामसँग एभर्टन पराजित भएको छ। एभर्टनकै मैदानमा वेस्ट हामले घरेलु टिमविरुद्ध १–० गोलको साँघुरो जित निकालेको हो।