निर्वाचन आयोगद्वारा नेकपाका दुवै समूहलाई पत्राचार

काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ।

आयोगले शुक्रबार दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।

आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताए। अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो। जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नु पर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ।

त्यसमा कुन मितिमा कुन केन्द्रीय समितिबाट के विवरण परिवर्तन भएको हो भन्ने विषयको निर्णय गरिन्छ। दाहाल–नेपाल समूहमा रहेका बहुमत केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै पार्टीको अध्यक्षबाट हटाएका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना खोपः दोस्रो डोज लगाउने मिति र स्थान सार्वजानिक

अर्कोतर्फ अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समितिको संख्या ११ सय ९९ पुर्‍याएको निर्णय गर्दै ५ सय ४६ लाई मनोनय गर्नुभएको थियो। निर्वाचन आयोगमा ४ सय ४७ सदस्यीय केन्द्रीय सदस्यहरुको नाम रहेको छ। सत्तारुढ नेकपा विभाजनको क्रममा गएपछि प्रधानमन्त्री ओली नेतृत्वको पक्ष र दाहाल–नेपाल नेतृत्वको नेकपा दुवैले आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको पक्षले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा गई आफूहरु नै मूल पार्टी भएको हुँदा पार्टीको नाम र चुनाव चिन्ह सूर्य आफूहरुसँग हुनुपर्ने दाबी गरेको छ।