अफगानिस्तानमा पत्रकारको हत्या

एजेन्सी। अफगानिस्तानमा एक पत्रकारको हत्या भएको छ। घोर प्रान्तमा बन्दुकधारीको आक्रमणबाट स्थानीय रेडियो स्टेशनका प्रधान सम्पादक बिस्मिल्लाह अइमकको मृत्यु भएको हो।

अफगानिस्तानमा पछिल्लो दुई महिनामा पाँच पत्रकारको हत्या भएको छ। एक महिना अघि पनि अइमकको हत्या प्रयास भएको थियो। त्यो बेला उनी बाँच्न सफल भएका थिए।
घोरको राजधानी फेरोज कोह नजिकै अइमक सवार गाडीमा बन्दुकधारीले आक्रमण गरेका थिए। नजिकै रहेको गाउँमा परिवारसँग भेट गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण भएको हो। गाडीमा रहेका अइमकका भाइ भने सुरक्षित छन्।

यसअघि पत्रकार राहमतुल्लाह नेक्जाद, मलाला माइवान्द, यामा सिएवाश र एलियास दायी तथा चलचित्र निर्देशक सबा साहरको हत्या भएको थियो।

अन्य सम्बन्धित समाचार:  चीनको आयात, निर्यात बढ्यो

पछिल्लो समय अफगानिस्तानका अधिकारकर्मी तथा सरकार पक्षधर व्यक्तिहरुलाई निशाना बनाउन थालिएको छ। हत्याका धेरै घटनामा कुनै पनि बिद्रोही समूहले जिम्मा लिएका छैनन्।

सरकारी अधिकारीले त्यस्ता अधिकांश घटनामा तालिबानको संलग्नता हुने गरेको बताएका छन्।