प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलन गर्ने

काठमाडौँ। संसद् विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहले आजदेखि दोस्रो चरणको आन्दोलन गर्ने भएको छ।

मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ।

संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्न बुधबार अन्य दलसँग गरिएको छलफलमा सहमति नबनेपछि प्रचण्ड–नेपाल समूह एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित संघर्ष समितिले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ। उक्त विषयमा छलफल गर्न समितिको बिहान ११ बजे बैठक बस्दैछ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनी प्रदेश— नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव वैशाख १७ र २७ गते गर्ने घोषणा गरेकी थिइन्।