प्रधानमन्त्री कप: सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

प्रधानमन्त्री कप

काठमाडाैं। साविक विजेता एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

शनिबार दाङको लमहीमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपीएफले फाइनल यात्रा तय गरेको हो। सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो। एपीएफको जितमा ज्योति पाण्डे २६ रनमा र सरिता मगर १९ रनमा नटआउट रहिन्।

१७ बल खेलेर एक चौका प्रहार गर्दै कप्तान सिता रानामगर भने ७ रनमा आउट भइन् । बलिङतर्फ सुदूरपश्चिमकी कविता कुँवरले १ विकेट लिइन् ।

बिहानको खराब प्रकाशका कारण खेल १६ ओभरमा झारिएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६० रन मात्रै बनाउन सक्यो।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो

सुदूरपश्चिमका लागि कविता जोशीले नटआउट २२ रन जोड्दा रेवती धामीले १२ तथा कविता कुँवरले ९ रनको योगदान गरिन्। दुई खेलाडीले खाता खोल्न सकेनन् भने अरु खेलाडीले अन्डर फाइभको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए। पहिलो सेमिफाइनल विजेता एपीएफले आजै हुने अर्को सेमिफाइनल प्रदेश एक र लुम्बिनीको विजेतासँग आइतबार उपाधि भिडन्त गर्ने छ।