एजेन्सी। टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन्। देशले कोरोना भाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति माग गरेका हुन्।
गभर्नर यूरिको कोइकीले तीन छिमेकी क्षेत्रका गभर्नरहरूसँग मिलेर कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न मन्त्री यासुतोशी निशिमुरासँग भेट गरेका हुन्। भेटमा उनीहरूको इलाकामा नियन्त्रणका उपाय लागू गर्नुपर्ने माग कोइकीले राखेका थिए।
जापानी अधिकारीहरूले हालैका हप्ताहरूमा रेस्टुरेन्टहरू र व्यवसायहरूलाई चाँडै बन्द गर्न र मानिसहरूलाई सकेसम्म धेरै समय घरभित्रै बस्न आग्रह गरेका थिए। यसले जापानमा सङ्क्रमण दर बढेपछि नियन्त्रणका लागि अपनाईएको पूर्व सावधानीलाई बताएको तर यो उपायले मात्र कोभिड–१९ नियन्त्रणमा ढिलाई हुने प्रतिक्रिया कोइकीले दिएका छन्।
“टोकियो र तीन छिमेकी प्रान्तहरुमा भएको सङ्क्रमणपछि चिकित्सा प्रणालीको अवस्थालाई ध्यानमा राख्दै हामीले विभिन्न समूहले गरेको आन्दोलनलाई तुरुन्त र पूर्ण रूपले रोक्न आवश्यक भएको निश्कर्षमा पुगेका छौँ,” उनले भने।
बिहीबार टोकियोमा एक हजार ३०० भन्दा बढी थप सङ्क्रमित भएपछि र देशभर पनि सङ्क्रमण दर उच्च देखिएपछि स्वास्थ्य सङ्कटकालका लागि छलफल सुरु भएको हो। जापानमा अहिलेसम्म कूल दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित बनेका छन् भने तीन हजार ४६० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।