देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। देशका केही ठाउँमा आज )आइतबार) वर्षा र हिमपातको सम्भावना रहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सुझाव समेत दिएका छन्।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना छ। यस्तै राती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमासमेत पानी पर्न सक्ने महाशाखाको अनुमान छ। सोमबारदेखि भने वाग्मती र प्रदेश १ का केही ठाउँमा समेत पानी पर्न सक्ने मौसमविदको भनाइ छ। पश्चिमी वायूको प्रभावले प्रदेश २ र लुम्बिनीबाहेक अरु प्रदेशका केही ठाउँमा पर्सिसम्म नै पानी पर्न सक्ने मौसमविद् सजना शाक्यले बताइन्।

अन्य सम्बन्धित समाचार:  खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

यस्तै देशका सबैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका धेरैजसो ठाउँमा सामान्यदेखि आंशिक रुपमा बादल लागेको छ भने तराइका जिल्लाहरुमा कुहिरो र हुस्सु लागेको छ। तराइको कुहिरो तथा हुस्सु भने दिउँसोदेखि हटेर जाने महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा शनिबार भन्दा केही न्यानो महसुस भएको छ। शनिबार १ दशमलव तीन डिग्री रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आइतबार ३ डिग्रीमा पुगेको छ।