पीएम कप महिला क्रिकेट: उपाधिका लागि प्रदेश १ र एपीएफ खेल्दै

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि भिडन्त आज (आइतबार) हुँदैछ। दाङको लमहीमा जारी प्रतियोगिताको उपाधिका लागि प्रदेश १ र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुँदैछ।

दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्। साविक विजेतासमेत रहेको एपीएफले सेमिफाइनलमा साविक उपविजेता सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।

यस्तै अर्को सेमिफाइनलमा घरेलु टोली लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा एपीएफसँग भेट पक्का गरेको हो। दुवै टोलीमा राष्ट्रिय टिमका खेलाडीहरुको वर्चस्व रहेकाले फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

समूह चरणदेखि सेमिफाइनलसम्म दुवै टिमले एक पक्षीयरुपमा खेल जित्दै आएका थिए। यी दुई टिमको तुलनामा प्रदेशका अन्य टोलीहरु कमजोर देखिएका थिए। राष्ट्रिय टिमका कप्तान रुविना क्षेत्रीको कप्तानीमा प्रदेश १ मैदान उत्रँदैछ भने राष्ट्रिय टिमका उपकप्तान सीता राना मगरको कप्तानीमा एपीएफले खेल्दैछ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

फाइनलसम्म आइपुग्दा अपराजित रहेका दुवै टोली त्यही नतिजालाई कायम राख्दै उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छन्।