प्रचण्ड पत्नीको स्वास्थ्यप्रति हाम्रो पनि चासो र चिन्ता छ: ज्वाला संग्रौला

प्रचण्ड पत्नी

काठमाडौं। नेपालका उच्च पदस्थ कर्मचारी, मन्त्री तथा नेताहरु आफू तथा आफ्ना परिवार बिरामी पर्दा भारत लगायत अन्य मुलुकहरुमा उपचार गराउन जाने चलन नाैलो होइन।

सानाे रोग हाेस् वा ठूलो, हाम्रा नेताहरु देशमा भएका सरकारी र आधुनिक सुविधा सम्पन्न अस्पतालहरु छाेडेर तुरुन्तै भारत, थाइल्याण्ड, सिंगापुर र संयुक्त राज्य अमेरिकासम्मका अस्पातालमा पुग्ने गर्छन्। यसरी उपचारका लागि विदेश जाँदा सम्पूर्ण खर्च राज्यकोषबाट नै जान्छ। यस्तोमा कर तिर्नेलाई कस्ताे लाग्ला?

प्रचण्ड पत्नीको स्वास्थ्यप्रति हाम्रो पनि चासो र चिन्ता छ! रोगसँग जोक र मजाक गर्नु हुन्न, यो सबैलाई लाग्न सक्छ। तर हाम्रो भनाइ यति मात्र हो कि सत्ता र शक्तिमा हुँदा देशभित्रै एउटा राम्रो अस्पताल बनाइदिएको भए आज हजारौँ सीता दाहालहरुको नेपालमै उपचार सम्भव हुने थियो।

राज्यको स्रोतसाधन महंगा गाडी, बिल्डिङ र भ्रस्टाचारमै स्वाहा पारेर सामान्य पेट दुख्दा समेत नेताहरु विदेश जाने परिपाटीले जनता रिसाए भन्ने हेक्का हुन्छ कि हुँदैन यो देशका शासकहरुलाई?

भर्खरै पश्चिमको यात्रा सकेर आउँदै गर्दा हामीले ती भिरपाखामा दुई छाक भात खान संघर्ष गर्दै गरेका अनि सुत्केरीमा राम्रोसँग स्याहार नपुगेर आङ खसेका हजारौँ आमाहरुका पीडालाई आँखामा कैद गरेका छौं। अनि हामीले यो देशका सत्ताका मान्छेहरुलाई प्रश्न गर्नै नपाउने हो र एउटा राम्रो अस्पताल किन बनाउन सकेनौ भनेर?

आज जति पनि नेता अनि तिनका परिवारहरु विदेश उपचार गराउन जान्छन् नि, त्यो खर्चमा तपाइँ हाम्रो रगत पसिनाले भरेको कर र विदेशमा दु:ख गरेर पठाएको रेमिट्यान्सको थोपा थोपा जम्मा भएको छ। हामी सोध्छौं, हामी प्रश्न गर्छौं, हामी र्‍याखर्‍याख्ति पार्छौं। हामीलाई त्यो अधिकार छ, किनकि हामी सचेत युवा हौं! कसैका दास हैनौँ।

आइन्दा बिरामी हुँदा जुन नेता विदेश जान तयार हुन्छ, त्यसलाई एयरपोर्टमै एरेस्ट गरेर नेपालका सरकारी अस्पतालका बेडमा भर्ना गर्ने अभियान चलाऔं युवा साथीहरु! नेताको ज्यान मात्रै ज्यान, नेताको प्राण मात्रै प्राण?

हामी जनता एक प्याकेट जीवनजलको अभावमा तड्पिएर कहिलेसम्म मरिरहने? हामीले पनि बिरामी हुँदा उपचार पाउनु पर्छ। हामीले पनि हाम्रो आयुभर बाच्न पाउनु पर्छ। नेता कुनै अर्को ग्रहबाट आएको प्राणी हैन, ऊ हामीजस्तै मान्छे हो। ऊ त हाम्रो सेवक हो, उस्लाई धेरै जी हजुरी गर्नु पर्दैन। उस्को जुत्ताको तलुवामा आफ्नो जिब्रो राख्नै पर्दैन।

जसरी एउटा किसानले असार साउनमा खेती गर्न गोरुलाई जोत्छ, अनि गोरु ढिलो हिंड्यो, मेलो छोड्यो वा बस्यो भने पछाडिबाट लठ्ठीले हिर्काउँछ, त्यसरी नै देशको सेवा गर्छु भन्ने आश्वासन बाँडेर राज्यको भत्ता खाएको नेताले अल्छी गर्यो, विकास गरेन र आफ्नो मात्र परिवारको भुँडी पाल्नतिर लाग्यो भने आम नागरिकले सुझाव र आलोचनाको लठ्ठीले हिर्काएर लाइनमा ल्याउनु पर्छ। हो कि होईन युवा साथीहरु?”

संग्राैलाकाे फेसबुकबाट साभार