हिमपातका कारण रोकिएका दुई जहाज सिमकोट विमानस्थलबाट उडे

हिमपात

हुम्ला। हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले साेमबार उडान भरेका छन्। आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए।

हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ। जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज उडेकाे हाे। मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ। अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ। आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  एनसेलले कोटेश्वर–कलंकी सडकखण्डमा बृक्षारोपण गर्दै