सन्दीपले विकेट लिएको खेलमा होबर्ट पराजित

काठमाडाैं। अस्ट्रेलियामा जारी बिग ब्याश लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आबद्ध टोली होबर्ट हरिकन्स पराजित भएको छ। लामिछानेको टोली होबर्ट आज भएको खेलमा मेलबर्न स्टार्ससँग १० रनले हार्न पुग्यो।

टस जितेर होबर्टले फिल्डिङ रोजेपछि मेलबर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो। जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबर्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

होबर्टका लागि बेन म्याक्डर्मटले ९१ रन बनाए। यस्तै डेभिड मालनले २६ तथा पिटर ह्यान्डस्कम्बले २१ रनको योगदान दिए। बलिङतर्फ मेलबर्नका लागि साम रेनबर्डले दुई विकेट लिए।

यसअघि ब्याटिङ गर्ने क्रममा मेलबर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन र्काटराइटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए। बलिङतर्फ होबर्टका लागि सन्दीप लामिछानेले एक विकेट लिए। उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चे।

अन्य सम्बन्धित समाचार:  एएफसी कपमा आर्मीले श्रीलंका पुलिसको सामना गर्ने

लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिए। दोस्रो ओभरमा दुई रन खर्चिँदै उनले मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिए।

लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिएका थिए। यस्तै होबर्टका लागि नेथन इलियसले तीन तथा रिली मेरेडिथले दुई विकेट लिए।