कञ्‍चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीबाट एक युवक घाइते

महेन्द्रनगर। कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपाली युवक घाइते भएका छन्।

सोमवार साँझ भारतको उत्तराखण्ड राज्यको चम्पावत् जिल्लाको बयलबन्दा जंगलमा गोली लागेर दोधारा–चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएका हुन्।

कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार घाइते सुनारको खुट्टामा गोली लागेको छ। भारतबाट घर फर्कने क्रममा उनलाई कुतियाकबर भन्ने ठाउँमा भारतीय प्रहरीले गोली हानेको बताइएको छ।

घाइते सुनारको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ। गोली चलेको ठाउँ नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को क्याम्प रहेको छ।

गोली किन हानेको भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन। घट्नाबारे कञ्चनपुर प्रहरीले भारतीय प्रहरीसँग छलफल गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग