अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता भएको छ।

राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले आइतबार उक्त अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गरेका हुन्।

संसद सचिवालयका अनुसार विडारीले उक्त अध्यादेश पहिला पनि जारी भई फिर्ता भएको र संसद्को अधिवेशन ६ महिनामा बोलाउनु पर्नेमा सो नगरी अध्यादेश जारी गरी संसद छल्ने काम भएको प्रस्तावमा उल्लेख गरेका छन्।

ुसंविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएको भन्दै राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गरिएको हो।

अन्य सम्बन्धित समाचार:  अपमानित ढंगले अभिव्यक्ति नदिन ओलीलाई कांग्रेसको चेतावनी

राष्ट्रपति भण्डारीले गत मंसिर २९ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन्। शुक्रबार सरकारले उक्त अध्यायदेश राष्ट्रिय सभामा पेस गरेको थियो।

अध्यादेशमा संवैधानिक परिषद्ले अध्यक्षसहित तीन जनाको बैठक बसेर निर्णय गर्ने सक्ने व्यवस्था गरिएको छ। यसअघि ६ सदस्यीय परिषद्को बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था थियो।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८९ मा अध्यादेश अस्वीकार प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।