गण्डकी प्रदेशको विशेष अधिवेशन आज

पोखरा। गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज (मंगलबार) सुरु हुँदैछ। विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने छ।

पहिलोपटक आह्वान गरिएको विशेष अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान छ। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले जनसरोकारका विषयमा छलफल आवश्यक रहेकाले विशेष अधिवेशन माग गरिएको बताए।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थामा टेकेर नेपाली कांग्रेसका १५ र जसपाका दुई सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएका थिए।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २१ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  अन्नपूर्ण बेस क्याम्प जान पीसीआर रिपोर्ट नचाहिने