नेपाली धितोपत्र बजारकै हालसम्मको ठूलो आईपीओ आउँदै

काठमाडाैं। माघ २ गतेदेखि सर्वसाधारणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। यो नेपाली धितोपत्र बजारकै हालसम्मको ठूलो आईपीओ हो। बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।

निष्कासन गरिने कुल शेयरमध्य ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिनेछ। सर्वसाधारण लगानीकर्ताले बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि आवेदन दिने सक्नेछन्।

अन्य सम्बन्धित समाचार:  भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय कुखुरा नष्ट

बैंकको सो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि माघ १६ गतेसम्म थपिनेछ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपियाँबराबरको आईपीओ बाँडफाँडपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।

बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ।