एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडाै। सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि पहिलाेपल्ट महिला सिफारीस गरेकाे छ। अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ।

सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए।

सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो। बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहनुभएकाले पाठकको नाम सिफारिश गरिएको हो।

बारले अदालतका सहयोगीमा अर्को व्यक्ति पठाउँदा समावेशी पनि हुने भएकाले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको उपाध्यक्ष खड्काको भनाइ छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बारबाट दुई वरिष्ठ अधिवक्ता वा अधिवक्ता एमिकस क्युरीका लागि झिकाउने आदेश जारी गरेको थियो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई

नेपाल बार एशोसिएसनले भने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम बिहीबार सिफारिश गरिसकेको छ। अदालतको आदेशानुसार यही पुस १९ गते राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ। यही पुस २२ गतेदेखि सर्वोच्च अदालतमा उक्त विवादमा सुनुवाइ शुरु हुने तय भएको छ।