साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटायो

काठमाडौं। साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ। खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ।

साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो। मंगलबार साउदी अरबमा हुने गल्फ को अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन्।

सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो। कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो। यो प्रतिबन्धमा बहराइन, इजिप्ट लगायतका देशहरुले पनि साथ दिएर कतारमाथि घेराबन्दी गरेका थिए।

अन्य सम्बन्धित समाचार:  ह्वाइटहाउस छाड्नुअघि ट्रम्पले लेखे वाइडेनलाइ पत्र

कतार सानो तर धनी खाडी देश हो। उसमाथि जिहादी आतंकवादीलाई साथ दिएको आरोप लाग्ने गरेको छ। सो आरोपको कतारले खण्डन पनि गर्दै आएको छ।

बीबीसीका अनुसार कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासबाट हटाउन सम्भव भएको हो र यसमा कुवेतले अहम् भूमिका निर्वाह गरेको छ।