१० महिनापछि भक्तजनका लागि खुल्यो मुक्तिनाथ मन्दिर

काठमाडौं। मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर मंगलबारबाट भक्तजनका लागि खुल्ला भएको छ। मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना महामारीका कारण बन्द मुक्तिनाथ मन्दिर मंगलबारबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सुप्रसिद्ध मानिएको हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ खुल्ला गर्ने संम्वन्धमा भएको विभिन्न सरोकारवाला निकायको समन्वय र बृहत छलफलपछि अंग्रजी नयाँ वर्षको दिन मुक्तिनाथ खुल्ला गर्ने घोषणा गरिएको थियो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले संम्पूर्ण जिल्लाबासीको साथ र सहयोगले १० महिना अघिबाट कोरोना कहरले बन्द मुक्तिनाथधाम दर्शनका लागि खुल्ला भएको जानकारी दिए।

कोरोना कहरका कारण मुक्तिनाथ मन्दिर गत चैत्र ११ गते देखि बन्द भएको थियो।

अन्य सम्बन्धित समाचार:  बाँदरबाट सुन्तला जोगाउन सास्ती