बाँके, दाङ र कञ्चनपुरमा ३ जना कोरोना संक्रमितकाे मृत्यु 

क्षेत्रनाथ देवकोटा, बाँके। बाँकेमा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका १८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर -५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका -३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारकै क्रममा मंगलबार बिहान ७ः ४५ उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा कोरोना विरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशकले लगाए

कञ्चनपुरका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ७ः २० बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी १७ पुसमा अस्पताल भर्ना भएका थिए। त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

बाँकेका ६८ वर्षीय पुरुषमा पुस ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएकै दिन उनी भेरी अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा सोमबार राति १२ः २५ बजे उनको मृत्यु भएको हो।