एसएसबीले नभई वन रक्षकले चलाएकाे गाेलीले युवक घाईते-कञ्चनपुर प्रहरी

भावना पाैडेल,डडेल्धुरा। कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रमा सोमबार साँझ नेपाली युवकमाथि भारतीय वन रक्षकले गोली चलाएको खुल्न आएको छ। भारतीय क्षेत्रमा काठ काट्न गएका दोधाराचाँदनी नगरपालिका –१ का नरेश सुनार सहितका अन्य ३ जना युवालाई एसएसबीले नभइ वन रक्षकले गोली हानेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो।

भारतको गढिगोठमा भारतीय पक्षले चलाएको गोली लागेर घाइते भएका दोधाराचाँदनी नगरपालिका –१ का नरेश सुनार सहितका ३ जना युवा रूख काट्न त्यहाँ गएको खुलेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

भारतीय एसएसबीले गोली नचलाएको बताइ सकेकाले वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरिए पनि पूर्ण विवरण अझै खुलि नसकेको उनले बताए। ‘सुनारसँगै दोधाराचाँदनी नगरपालिका –१ का २६ वर्षीय दीपक धामी र ३५ वर्षीय बब्लु चन्द पनि रूख काट्न आरासहित भारतीय वन क्षेत्रमा गएका रहेछन्,’ उनले भने, ‘सुनारसँगै गएका चन्द र धामीलाई प्रहरीले सम्पर्कमा ल्याएपछि घटनाको रहस्य बाहिर आयो।’

अन्य सम्बन्धित समाचार:  थारु समुदायलाई ‘भलमन्सा’ चुन्ने चटारो

फडानी रोक्नको लागि भारतीय वन रक्षकले गोली चलाएको अनुमान गरिएको छ। नरेशको महाकाली अस्पतालमा उपचार भइरहेको छ भने यसअघि उनले आफू भारतमा घरायसी सामान किन्न गएको र फर्किदा आफू माथि गोली प्रहार भएको बताएका थिए।