सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन्।

यो वर्ष हुने छैटौं संस्करणको प्रतियोगिताका लागि पिएसएलले मंगलबार सन्दीपसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ। यो प्रतियोगिताकै महङ्गो श्रेणी हो। पिएसएलको ड्राफ्ट आगामी जनावरी १० मा लाहोरमा हुँदैछ।

सो ड्राफ्टमार्फत ६ टिमले खेलाडी भित्र्याउनेछन्।

प्लाटिनम श्रेणीको मूल्य न्यूनतम १ लाख ४७ हजार अमेरिकी डलर (१ करोड ७२ लाख रुपैयाँ) देखि अधिकतम २ लाख १८ हजार अमेरिकी डलर (२ करोड ५५ लाख रुपैयाँ) तोकिएको छ।

ड्राफ्टअघि सबै टिमले अधिकतम ८ खेलाडी रिटेन गर्न पाउनेछन्। बाँकी खेलाडी ड्राफ्टबाट लिनु पर्नेछ। सन् २०२१ को पिएसएल मार्चमा हुने छ।

अन्य सम्बन्धित समाचार:  बंगलादेशको क्लिन स्विप

पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका सन्दीपसँगै आइसिसी टी–२० प्लेयर अफ दि डिकेड घोषित भएका आफगानिस्तानका रासिद खान, डेभिड मिल्लर, क्रिस गेललगायत विश्वकै चर्चित खेलाडी छन्।

एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउनेछ। यस्तै डाइमन्डबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउनेछ।

गत सिजन सन्दीपसहित नेपालका ७ खेलाडी पिएसएलको ड्राफ्टमा परेका थिए। तर उक्त प्रतियोगिताका लागि छनोट भने हुन सकेनन्। सन्दीपले २०१९ मा भने लाहोरमा अनुबन्ध भएर पिएसएल खेलेका थिए।